काठमाडौं / सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।
यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ ।
बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम रहको बताएका हुन् ।
निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणाको दिन (आज) र मतदानको दिन ४ मंसिर बाहेक( १०७) दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो ।





















