काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै भएको जानकारी दिए ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।
संसदीय छानबिन समितिको प्रतिवेदनमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको भनिएपछि शर्मा पुन अर्थमन्त्री भएका हुन् ।





















