चितवन / नारायणी अनलाइनका सम्पादक पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।
कुटपिटबाट घाइते भएका सम्पादक आचार्यले शनिबार जिल्ला प्रहरी कार्यालय, भरतपुरमा पुगेरै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र भरतपुरका कार्यालय प्रमुख राजीव कुमार सिंहसहित आठ कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
प्रहरीले किटानी जाहेरीमा परेका कार्यालय प्रमुख सिंह बाहेकका सात जना कर्मचारीलाई नियन्त्रणमा लिईसकेको छ ।
जाहेरीमा अन्य नाम थर नखुलेका ५/७ जना व्यक्तिहरु पनि घटनामा संलग्न रहेको उल्लेख गरिएको छ । शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए ।
कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए ।
उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए । कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।
यस घटनाको पत्रकार सम्बद्ध सम्पूर्ण संघसंस्था, नागरिक समाज, मानवअधिकारकर्मी लगायतले चौतर्फी विरोध गर्दै घटनामा संलग्न दोषी माथि कडा कारवाहीको माग गरेको छ ।





















