काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा अर्का गैरसांसद मन्त्री बन्न लागेका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवा समक्ष पठाएको छ ।
संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो ।
अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइतबार सिफारिस गरेको हो ।
कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । कुँवर एकीकृत समाजवादीका केन्द्रीय नेता हुन् ।
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ। सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरूको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए। उनका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन चाहेका छन्।
एकीकृत समाजवादीले शहरी विकास मन्त्रीमा चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा श्रेष्ठ, श्रम मन्त्रीमा कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा केसीको नाम सिफारिस गरेको छ। त्यस्तै अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ।
यस अघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए।





















