काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अझै नगएको बताएका छन्।
माओवादीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा प्रचण्डले ओलीबारे यस्तो टिप्पणी गरेका हुन्।
स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेर पनि एमाले अध्यक्ष ओलीले संसदमा तीन घण्टासम्म बोलेर दम्भ देखाएको बताए। यद्यपि ओलीको मन भने रोएको उनले बताए। ‘भाषणमा जे भने पनि मन त रोएकै छ नि!,’ ओलीतिर लक्षित गर्दै प्रचण्डले भने, ‘माओवादीलाई गुगलमा खोज्दा पनि भेटिँदैन भनेका थिए चुनाव अगाडि। तर अहिले त गुगलमा मात्रै होइन, पूरा शक्तिका साथ माओवादी खडा भएको छ।’
प्रचण्डले नेपाली काँग्रेसलाई अहंकार र दम्भ नगर्न पनि आग्रह गरे। उनले यदि काँग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए। ‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं। तर, एमाले अति धेरै अहंकार र दम्भ आयो। अहिले काँग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ।’
प्रचण्डले अगाडि भने, ‘हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। हामीलाई अरू केही छैन।
तर हामी चिन्तित छौं। काँग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो।
अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै काँग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’





















