काठमाडौं / राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी छन्।
बुधबार प्रतिनिधिसभामा बजेट माथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ। उनीहरुको तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाह गर्ने दात्यित्व सरकारको हुनुपर्छ।’
उपाध्यक्ष पौडेलले महिलामाथिको बलात्कार हिंसाको कारबाहीलाई छिटो टुंग्याउन पारिवारिक वा फास्ट ट्रयाक अदालत गठन गर्नुपर्ने र त्यसका लागि बजेटमा रकम विनियोजन हुनुपर्ने बताइन्।
उनले उत्पीडित महिलाहरुलाई सहयोग र संरक्षणका लागि सरकारले महिला सहायता कोष निर्माण गर्नुपर्ने पनि धारणा राखिन्।
संविधानले समाजवाद उन्मुख राज्य बनाउने भने पनि आगामी आर्थिक वर्षको बजेटले त्यस खालको ठोस कार्यक्रम ल्याउन नसकेको सांसद पौडेलले बताइन्।
बजेटले कृषि उत्पादन बढाउने कुरामा जोड दिए पनि नेपालको जमिनमाथि अझै सामन्ती स्वामित्व रहेकाले त्यसलाई अन्त्य नगरी कृषि उत्पादन नबढ्ने पौडेलले बताइन्।





















