काठमाडौं/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्सँदै जाँदा माओवादी कमजोर भएको बताए।
‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुख दुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ,’ उनले भने, ‘अब विगतजस्तै जनप्रतिनिधि जनताको सुख दुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ।’
माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताए। माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए।
फेरि एक पटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष प्रचण्डले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रूपान्तरणमा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए।
नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताए। शिक्षा विकासको पहिला शर्त भएको उल्लेख गर्दै उनले शिक्षाका आमुल सुधार गर्ने नीति लागू गर्न आग्रह गरे।
‘शिक्षा, स्वास्थ्यलगायत विषयमा आधारभूत अवधारणा नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘पर्यावरणको रक्षा गर्दै हरित विकासमा जनप्रतिनिधिको ध्यान जानुपर्छ।’





















