काठमाडौं / नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १ सय ५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताए ।
चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यले बताए । स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुख जितेको छ ।





















