चितवन / चितवनको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रकी रेनु दाहालले एक हजार ९२१ मतको अग्रता लिएकी छन् ।
२९ हजार ४४८ मत गन्दा रेनुले १० हजार ७९१ मत पाएकी छन्। उनलाई पछ्याईरहेका एमलेका विजय सुवेदीले ८ हजार ८७० मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ८५६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ९०५ मत पाएका छन् । राप्रपाबाट उपमेयरकी उम्मेदवार हिमला गुरुङले सात हजार २०१ मत पाएकी छन् ।
सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिएको नेपाली कांग्रेसले उपमेयर आँफैले राख्यो ।
कांग्रेस चितवनले भरतपुरको उमपेयरमा कांग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलाई उठायो । गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चित्रसेनले मतदान सम्पन्न भई गणना सुरु भएदेखि नै एकतर्फी अग्रता कायम गरेका छन् ।
मेयरमा सत्ता गठबन्धन र एमाले-राप्रपा गठबन्धनबीच उतारचढाव भए पनि उपमेयरमा भने चित्रसेन सुरुदेखि नै अग्रता कायम गर्न सफल भए । हाल २७ हजार ४३८ मत गणना भइसक्दा उनले ११ हजार ९५६ मत पाइसकेका छन् ।
उनले एमाले-राप्रपा गठबन्धनबाट उपमेयरकी उम्मेदवार राप्रपाकी हिमला गुरुङविरुद्ध लगातार अग्रता बनाए । ताजा परिणाम अनुसार पनि चित्रसेन हिमला भन्दा पाँच हजार २१४ मतले अगाडि छन् ।
महानगर प्रमुखमा एमलालेलाई समर्थन गरेर उपप्रमुख आफुले राखेको राप्रपा यो दौडमा सुरुदेखि नै पछाडि परेको छ । २७ हजार ४३८ मत गणना भइसक्दा हिमाला एक पटक पनि चित्रसेनको छेउछाउ पुग्न सकिनन् । चित्रसेनले लिइरहेको अग्रताको आधारमा धेरैले उनी भारी मतान्तरले विजयी हुने अनुमान गरिरहेका छन् ।






















