बुटवल / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन तथा सबस्टेसनहरूको समस्याका कारण अहिले देखिएको अवरोधलाई छिट्टै समाधान गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन लागेको बताएका छन्। शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले विद्युत् आपूर्तिको समस्या छिट्टै समाधान हुने बताएका हुन्।
उत्पादन भएका विद्युत्लाई सकेसम्म नेपालभित्रै खपत गरिने भन्दै उनले उद्योगहरूले मागेजति विद्युत् उपलब्ध गराइने उल्लेख गरे।
उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गरी शुल्कमा समेत छुटको व्यवस्थालाई जोड दिइने पनि उनले बताए।
सबस्टेसन निर्माण र केही प्रसारणलाइन विस्तार भइरहेकाले अहिले परीक्षणस्वरूप भारतमा विद्युत् बिक्री गरिएको उनको भनाइ छ। घिसिङले विद्युत् विस्तार तथा संरचना निर्माणमा ऐन, कानुन नै बाधक भएकोले काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने देखिएको बताए।





















