काठमाडौं / एमालेले संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिन शुरु गरेका छन् ।
त्यसका लागि एमाले सांसदहरु आज कार्यालय समय शुरु हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका छन् । एमाले सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन सभामुखको कार्यकक्षमा पुगेका छन् ।
यसअघि बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।
एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ ।





















