काठमाडौँ / नेकपा माओवादी केन्द्रको आज बस्ने स्थायी कमिटी बैठकले सरकार जाने मन्त्रीहरूको नाम टुंग्याउने भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारको बैठकपछि सरकारमा जाने मन्त्रीहरूको नाम सोमबार टुंगिने बताएका थिए ।
माओवादीले अझै सात मन्त्रालय लिने गरी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेको माओवादीका एक नेताले बताए । ति नेताका अनुसार एमालेको माधवकुमार नेपाल समूह सरकार नजाने भएपछि माओवादीले थप दुई मन्त्रालय लिने तयारीका साथ मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो ।
कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् । त्यस्तै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री छन् ।





















