चितवन / पालिका स्तरमा आगलागी सम्बन्धी प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्येश्यले चिवतनको भरतपुर महानगरपालिकास्थित बारुण यन्त्र इकाईलाई विभिन्न अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ।
युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीको शहरी विपद् पूर्व तयारी परियोजना मार्फत सो सामग्री प्रदान गरिएको हो।
युएनडीपीले अग्नि नियन्त्रणका लागि फायर पीपीई सेट, अक्सिजन सिलिण्डर, होज पाईप, फायर एसकेप मास्क, फायर गगल, बोल्ट कटर, फायर एक्स र उद्धारका लागि फायर रेस्क्यु रोप, एसेन्डर, डीसेन्डर, सफेटी टर्च लगायत १९ लाख बराबरको सामग्री प्रदान गरेको छ। कार्यक्रममा युएनडीपीको शहरी विपद् पूर्वतयारी परियोजनाका संयोजक सुशान्त शर्माले उक्त सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रममा भरतपुर महानगर बारुण यन्त्र इकाईका प्रमुख देवेन्द्र राज रेग्मीले भारतपुर महानगर र आसपासका क्षेत्रमा आगलागीका घटना प्रत्येक बर्ष बढदै गएकाले र नियन्त्रण गर्ने सामाग्री प्रशस्त नभएका कारण हस्तान्तरण गरिएको सामाग्री यस समयमा महत्वपूर्ण भएको बताए ।
त्यसैगरी भरतपुर महानगरका प्रवक्ता एवं भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भण्डारीले उक्त अग्नि नियन्त्रण सामग्रीको प्रयोगले आपतकालीन समयमा क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
यस परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले शहरका लक्षित समूहहरुको पहिचान गर्न, विपद प्रतिकार्यका लागि स्वयंमसेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न र आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना लगायतका कार्यमा नगरपालिकालाई सहयोग गर्दै आएको छ।





















