काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकताका बिषयमा छलफल सुरु भएको छ। आइतबार दुबै दलले गठन गरेको कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ।
विप्लव नेतृत्वको नेकपाबाट सो कार्यदलमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य चिरण पुन र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य सिपी गजुरेल ‘गौरब’ र बसन्त सहभागी छन्। आजको बैठकमा पार्टी एकीकरण एबम् ध्रुविकरणका बिषयमा छलफल भएको बताइएको छ।
सो छलफलमा विप्लव नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य पुनले तथा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको तर्फबाट नेता गजुरेलले पार्टी एकता, कार्यदिशाबारे आफ्नो विचार राखेका थिए।
आजको बैठकको छलफल सकारात्मक रहेको र छिट्टै बस्ने अर्को बैठकमा रणनैतिक संयुक्त मोर्चाको बिषयमा छलफल हुने बताइएको छ।





















