काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको पछिल्लो गतिविधिविरुद्ध आपत्ति जनाएको छ।
नेपाल-खनाल निकटको स्थायी समिति सदस्यहरूको बिहीबार भएको छलफलमा यस विषयमा कुरा उठेको हो।
एमाले ब्युँतिएपछि पूर्ववत अवस्थामा फर्किएको नेतृत्वलाई विभिन्न समूहले दुर्व्यवहार गर्न थालेकोप्रति उक्त समूहको असन्तुष्टि छ। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि पनि विभिन्न ठाउँमा नेताहरूमाथि दुर्व्यवहार भइरहेको छ। एमालेका नेतालाई हटाएर, एमाले नै नभएका मानिसलाई ल्याएर राखिँदैछ। यो सबै कुरामा हामीले छलफल गरेका छौँ।’
एमाले ब्युँतिएपछि पार्टीको औपचारिक बैठक बस्नुपर्नेमा अझैसम्म बैठक नबोलाइएको र सोही कारण आफूहरू अनौपचारिक छलफलमा जुट्नुपरेको पनि उनले बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढङ्गले अघि बढेको, नवौँ महाधिवेशनको विधान, नीति, कार्यदिशा विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढेकोले अब सशक्त प्रतिकार गर्ने निष्कर्ष उक्त समूहले निकालेको छ।
बिहीबार बसेको बैठकले ओलीका पछिल्ला गतिविधि पार्टी हितप्रतिकूल रहेकोले वक्तव्य नै निकालेर विरोध, असहमति प्रकट गर्ने निचोड निकालेको वरिष्ठ नेता खनालले बताए। ‘हामी वक्तव्य निकालेर विरोध जनाउँदै छौँ। ओलीका गतिविधि नवौं महाधिवेशनको मर्म र भावना अनुकूल छैनन्,’ उनले थपे।
फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओली समूहले देशैभर कार्यालयको बोर्ड परिवर्तन गरेको थियो। झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई निषेध गर्दै पार्टी कब्जाको शैलीमा अघि बढेको भन्दै इतर समूह आक्रोशित, क्षुब्ध बनेको हो। कैलालीमा त भीम रावललाई निषेध गर्न खोज्दा, उनको नेमप्लेट हटाएर लेखराज भट्टको कायम गर्न खोज्दा दुई पक्षबीच झडप नै भएको थियो।
‘हामीले ओलीलाई अराजकता नियन्त्रण गर्न, पार्टीलाई विधि, पद्धति, विधानअनुसार चलाउन आग्रह गरेका छौँ। नगरे सशक्त प्रतिवाद हुन्छ,’ उनले भने, ‘आज त्यही विषयमा छलफल भयो। छलफलको निचोड पनि त्यही हो।’ खनालले आफू वामपन्थी सरकारकै निरन्तरताको पक्षमा रहेको पनि बताए।
अहिले एमालेभित्रको आन्तरिक एकतामै जोड दिएको र माओवादी केन्द्रलाई पनि साथै लिएर जानुपर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो।





















