काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन्।
शनिबार सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्यो। अहिले खोलाबाट पानी छाड्यौं। अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं। अहिले पानी आयो काठमाडौंमा पानी झर्यो भन्ने हो। केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ।’
प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको समेत बताए। पानी काठमाण्डौं ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उनको भनाइ छ।
त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानीलाई काठमाडौँमा आजै स्वागत गरेका हुन्।
पानी बागमतीमा बगाउने कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको विषय सुरु हुँदा मेरो कपाल कालै थियो। अहिले कालो कपाल नै भेटिन्न। यसको अर्थ हो कति लामो समय लाग्यो त? ‘अब काम सम्पन्न भएको छ।’
प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिएका थिए।शिवरात्रीमा पशुपति आउने हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिएका थिए।
खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए। त्यस यता सुरुङमा जम्मा भएको पानी बागमतीमा छोडिएको हो।





















