काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।
सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए ।
आफूहरु हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले त्यसका नाममा हस्तक्षेप भने स्वीकार्य नहुने बताए ।
‘हामी खुला हुनुपर्छ । हामी खुला छौं । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौं,’ विप्लवले भने, ‘तर हामी यहीँ पनि भन्छौं, कसैले हामीलाई हस्ताक्षेप गर्यो भने, कुनै विदेशीले हामीलाई हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने छैनौं । हाम्रो यो प्रतिबद्धता छ ।’
‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् ।
उनले नेपालीको चाहना पूरा नभएको भन्दै आगामी दिनमा त्यसको बाटोमा अघि बढ्ने बताए । आफूहरु सहकार्य र हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए ।





















