प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको आरोप नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगाएका छन्।
शनिवार बिराटनगरमा आयोजित आफू पक्षीय भेलामा प्रधानमन्त्री अोलीले अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए।
सो अभिव्यक्तिबारे सामाजिक सञ्जाल ट्विटरमा लेख्दै काँग्रेस प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन नसक्ने जनाएका छन्।
उनले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ। न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।’
ओलीले विराटनगरको सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’।
ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिएका थिए।





















