काठमाडौं / चीनलाई उपहारस्वरूप दिएको ४ वटा गैँडामध्ये २ वटाको मृत्यु भइसकेको छ। नेपाल सरकारले समय-समयमा विभिन्न मित्रराष्ट्रलाई वन्यजन्तु उपहार दिने गरेको छ।
अहिलेसम्म उपहार स्वरूप दिएका वन्यजन्तुको अवस्थाबारे भने अनुगमन गरिरहेको छैन। विदेशस्थित विभिन्न पार्क तथा राष्ट्रिय सङ्ग्रहालयमा राखिएका ती वन्यजन्तु जिउँदै छन् या मरे भन्ने सम्मको जानकारी सरकारलाई छैन।
करिब ४ दशकयता विभिन्न १२ वटा राष्ट्रलाई नेपालले ३९ वटा वन्यजन्तु उपहार दिइसकेको छ। अमेरिका, जर्मनी, भारत, सिङ्गापुर, बङ्गलादेश, बेलायत, जापान, अष्ट्रीया, चीन, फ्रान्स, भुटान र साउदी अरबले उपहारस्वरूप नेपालका वन जङ्गलमा पाइने संरक्षित वन्यजन्तु लगेका हुन्।





















