चितवन/ कोरोना संक्रमीत बाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण हेटौंडा सिमेन्ट उद्योग स्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको सचिवालयले जनाएको छ । ‘उहाँमा खोकी धेरै देखियो ।
मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले भने हेटौंडामा डाक्टरहरुले थप उपचार काठमाडौं गएर गर्न सुझाएपछि सोही अनुसार गरेका हौं,’ । उनका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेका कारण समस्या देखिएको छ । ‘निरन्तर खोकी लागिरह्यो । शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको कारण थप उपचार काठमाडौंमै गर्नुपर्ने डाक्टरहरुको समेत सल्लाह रहेको छ,’ थपलियाले भने ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०.३० बजे उनलाई काठमाडौं लगिएको हो ।





















