चितवन / भरतपुरका युवा कृषि उद्यमीहरूले भरतपुर महानगरपालिका, वडा नं–१०, वाइपास रोड, थानी चोकमा सञ्चालन गरेको तरकारी तथा फलफूल मण्डीको आज शुक्रबार उद्घाटन गरिएको छ ।
संघीय सरकारका सांसद तथा प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले भरतपुर तरकारी तथा फलफूल प्रालिबाट सञ्चालित भरतपुर तरकारी तथा फलफूल मण्डीको उद्घाटन गरे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद पोख्रेलले कुनै किसानले नबिकेर तरकारी फाल्नुपर्ने अवस्था अब नआउने विश्वास गरे । उनले भने, ‘चितवनका किसानले उत्पादन गरेको हरेक वस्तु अब भरतपुर तरकारी तथा फलफूल प्रालिले उचित मूल्यमा खरिद गर्नेछ र यहाँका किसानको आर्थिक अवस्था मजबुद बनाउने मैले विश्वास गरेको छु ।’

भरतपुर तरकारी तथा फलफूल प्रालिका अध्यक्ष शम्भु थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल ‘अविनाश’, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल , नेपाली कांग्रेसका सचिव उत्तम जोशी लगायतले भरतपुर तरकारी तथा फलफूल मण्डीको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
उनीहरुले गुणस्तरीय उत्पादित वस्तु सर्भसुलभ मूल्यमा यस मण्डीबाट उपभोक्ताको भान्सामा पुग्नुपर्ने बताए । कार्यक्रममा मन्तव्य दिनेहरुले बिचौलियाको अन्त्य गर्न सुझाव दिएका थिए । ३ करोडको संयुक्त लगानीमा मण्डी स्थापना गरिएको हो । अति सुविधा सम्पन्न अत्याधुनिक तरकारी तथा फलफूल मण्डीमा थोक तथा खुद्रा तरकारी तथा फलफूल बिक्री वितरण गरिएको प्रालिका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।
थापाले प्रालिले खरिद गरेका तरकारी तथा फलफूल नै विक्रेतालाई वितरण गरिने भएकाले विचौलिया नै यहाँ नहुने बताए । उनले भने, ‘प्रालिले सामान खरिद गर्छ, त्यही सामान विक्रेतालाई दिन्छौँ, निश्चित नाफा राखेर विक्रेताले उपभोक्तालाई बेच्छन्, निश्चित नाफा हुने गरी प्रालिले मूल्य तोकिदिन्छ, जसका कारण यो मण्डीमा बिचौलिया कुनै गन्ध हुँदैन ।’
अध्यक्ष थापाले १० हजार वर्ग फिटको एउटै छानामुनि ७ हजार वर्ग फिटमा ४४ वटा स्टलहरू रहेको बताए । चामल, चिनी, दाल, तेल तथा गेडागुडी सहित अत्याधुनिक डिपाटमेन्टल स्टोर्स रहनेछ भने मण्डीमा सरसफाई गर्नको लागि पर्याप्त पानीको व्यवस्था, विजुलीको लागि ज्यानेरेटरको व्यवस्था, सुरक्षाको लागि सिसि क्यामेरा र सुरक्षा गार्डको व्यवस्था सहित प्रयाप्त पार्किङको व्यववस्था गरिएको छ ।
अध्यक्ष थापाले यो अभियानमा शुरुदेखि सहयोग गर्नु हुने सस्थाका उपाध्यक्ष सुदन दराई ,सचिव साजन अधिकारी , प्रवन्ध निर्देशक कृष्ण शंकर अधिकारी , सल्लाकार चेत प्रसाद सेडाई , सुमन सापकोटा, उत्तम गुरुङ्ग लगायत सहयोग गर्नुहुने सबैमा विशेष धन्यवाद दिएका थिए ।
सामान खरीद तथा बिक्रिको लागि पनि छुट्टा छुट्टै समयको व्यवस्था गरिएको छ । विहान ३ः०० बजेदेखि ५ः०० बजेसम्म स्टलवालाले सामान खरीद गर्ने, विहान ५ः०० बजेदेखि ६ः०० बजेसम्म थोक बिक्रि गर्ने र बिहान ६ः०० बजेदेखि राती ८ः०० बजेसम्म खुद्रा खरीद बिक्रि हुनेछ ।
हरेक विहान ५ बजे देखि ७ बजे सम्म तरकारी तथा फलफूल खरीद गर्न आउने तथा मनिङ्गवाक गर्न आउने जो सुकै व्यक्तिहरुलाई हट लेमन निशुल्क खुवाउने व्यवस्था गरिनेछ र निकट भविष्यमा कृषि फर्म, बाख्रापालन, बङगुरपालन, मासु मण्डी , डिपाटमेन्टल स्टोर्स , डेरी फर्म खोल्ने , लोकल कुखुराको चल्ला , मासु पसल तथा कृषि सहकारीको स्थापना गर्ने अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रमको सञ्चालन प्रालिका सचिव साजन अधिकारीले गरेका थिए ।
























