काठमाडौं / आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन ।
पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ ।
हिन्दू नेपालीहरुको महान चाड विजयदशमी (बडा दशैं)को पहिलो दिन घरघरमा जमरा राखिन्छ ।
शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ ।
दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बताइएको छ ।
आश्विन शुक्लपक्षको प्रतिपदा तिथि अर्थात् आजकै दिनदेखि नवरात्र प्रारम्भ हुन्छ । यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रुपमा लिइन्छ ।
घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्मा शुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याएर जमरा राखिन्छ । जमरा राख्नु पहिले पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन पनि छ ।
यस वर्ष घटस्थापनाको साइत शनिवार बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशैं नौ रात र दश दिनको हुन्छ। आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ।कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०:१९ बजेको साइत उत्तम छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ।
आज राखेको जमरा यस्तो हुन्छ ।






















