चितवन / चितवन जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएपछि घरमै बसेर दसैँ तिहार मनाउ र अनावश्यक हिडडुल तथा जमघट नगर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले १२ वर्ष भन्दा कम उमेरका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धमा संक्रमणको जोखि उच्च रहेकोले घर बाहिर ननिस्कन र निस्कनै परे पनि सुरक्षाको मापदण्डहरु अपनाउन आवश्यक रहेको जनाएको छ ।
जिल्ला प्रशासन चितवनले नागरिकहरुले कोरोना महामारीलाई गम्भीररुपमा नलिएको भन्ने गुनासो बढ्दै गएपछि अवैद्य मदिराको बिक्री वितरण तथा होहल्ला पनि नगर्न निर्देशन दिएको छ । त्यसैगरी प्रशासनले राजमार्ग छेउछाउमा खाद्य पदार्थ बिक्रीवितरण नगर्न र सडक छेउमा राखिएका खाद्य पदार्थ खरिद र उपभोग पनि नगर्न निर्देशन दिएको छ । त्यस्तै तिहारमा पड्काइने पटका, चन्दा संकलन गर्ने र ध्वनि प्रदूषण हुने गरी माइक बजाउन पनि प्रशासनले बन्देज लगाएको छ ।
त्यसैगरी दसैँतिहार जस्ता चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, भेला, खेलकुद र देउँसीभैलो जस्ता कार्यक्रम पनि नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले भनेको छ , ‘ चितवनमा सञ्चालन भएका सार्वजनिक सवारी तथा व्यापारीहरुले पनि पूर्ण रुपमा सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । किनमेल र बिक्री गर्दा पनि विशेष सुरक्षाका उपायहरु पालना गर्नुपर्छ ।





















