पर्सा / वीरगन्जमा एक जना नक्कली डाक्टरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। डाक्टरको बोर्ड राखेर गर्भवतीको अल्ट्रासाउण्ड गर्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी गाउँपालिका-३ निवासी ४० वर्षीय नारद साह तेलीलाई पक्राउ गरेको हो। वीरगन्ज महानगरपालिकाको–२, छप्कैया स्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिव शंकरको नाममा आफैंले विरामीको चेक जाँच गरी उनले औषधी समेत बेच्ने गरेका थिए।
गर्भवतीको अल्ट्रासाउण्ड गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उनलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनलाई मुलुकी अपराध संहित अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





















