काठमाडौं /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबै संवेदनशील बन्नुपर्ने बताएका छन् ।
नेकपा नेता श्रेष्ठले डा. केसी पक्ष र सरकारको बीचमा भइरहेको वार्ता हरहालतमा सफल पार्नुपर्ने पनि बताएका छन् ।
‘डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा भइरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ,’ नेकपा नेता श्रेष्ठले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, ‘डा केसीको जीवन रक्षा गर्नुपर्छ । सम्बन्धित सबै संवेदनशील बनौं ।’
चिकित्सा शिक्षा सुधारको मागसहित डा. गोविन्द केसी १९ औं चरणको आमरण अनसनमा छन् । डा. केसी अनसन बसेको २७ औं दिन पुगिसक्दा पनि उनले अगाडि सारेका माग सम्बोधन गर्ने विषयमा भने सरकारी पक्षबाट ठोस पहल नचालिएको डा. केसीका समर्थकहरुको भनाइ छ ।
शुक्रबार राति समेत सरकारी वार्ता टोली र डा केसीको वार्ता टोलीबीच छलफल भएको थियो । तर, शुक्रबारको वार्ता विना कुनै निष्कर्षमा पुगेर टुंगिएको छ ।





















