काठमाडौं / पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।
यस्तै, बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ। शुक्रबार देशभर १३ हजार ८७९ जनाको पिसिआर परीक्षण गरिएको छ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभरबाट १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौँकी ८७ वर्षीया महिला , काठमाडौँकै ७१ वर्षीया पुरुष , ललितपुरका ८४ वर्षीया पुरुष , रुपन्देहीका ४७ , ८४वर्षीया दुइ पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो।
यस्तै सुनसरीका ४६ , ५२ र ६८ वर्षीया तीन पुरुष , झापाका २९ , ५२ वर्षीया दुइ पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै आज १० जना कोरोना संक्रमितको मृत्यु भए संगै हाल सम्म देशभरबाट ६०० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।





















