तनहुँ / तनहुँको आँबुखैरेनीका ४१ वर्षीय राजकुमार गुरुङको शव गाडेको तीन दिन पछि निकालिएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ खस्राङस्थित घरमा गुरुङको भदौ ३१ गते हत्या भएपछि गुपचुप उनको शव गाडिएको थियो ।
गाउँमा मान्छे मारेर गाडिएको खबर पाएपछि शंका लागेर प्रहरी गाउ पुगेका थिए ।
गाउँ पुगेपछि दाहसंस्कार गरिसकेको राजकुमारको शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
गुरुङको हत्या आफ्नै छोराले गरेका जनाइएको छ । हत्यामा संलग्न रहेको खुलेपछि मृतकका छोरा २१ वर्षीय वीरमान गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले बताए ।
पौडेलका अनुसार आवेगमा धकेल्दा बाबुको मृत्यु भएको आरोपीले स्वीकारी सकेका छन् ।अनुसन्धानको क्रममा मृतकको मदिरा सेवन गर्ने लत रहेको खुलेको छ ।
घटना घटेको दिन पनि गुरुङले मदिरा सेवन गरेर छोरा–बुहारीलाई ‘तिमिहरु घर छाड्’ भनेपछि विवाद भएको पौडेलले बताए । छोरा वीरमान र बुहारी सामान प्याक गरेर घरबाट निस्कन खोज्दा ‘आफ्नो भागको गाईवस्तु पनि लैजा’ भनेर कठालो समाएपछि छोराले राज कुमारलाई हुत्याएका थिए ।
आँगनमा बजारिँदा गुरुङको ज्यान गएको हो । हत्या आरोपमा पक्राउ परेका वीरमानलाई जिल्ला अदालत तनहुँबाट १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय आबुखैरीनको हिरासतमा राखिएको एसपी पौडेलले बताए ।





















