काठमाडौं / मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २ सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो ।
कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १ सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो ।
उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ । आज सम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए।
सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।
कारागारमा कोरोना बढ्न थालेपछि केही दिन अघि एक रिटमा सर्वोच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानूनअनुसार कैद छुट दिन आदेश दिएको छ ।
सर्वोच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । विसं २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरु नबनेकाले कार्यान्वयन भएको छैन ।
सर्वोच्चको आदेश अनुसार आवश्यक विवरण सङ्कलनको काम शुरु भएको सापकोटाले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको प्रतिवेदन पेश गर्ने तयारी थालिएको उनले बताए ।
ऐनमा ५० प्रतिशत कैद भुक्तानी गरेका व्यक्तिमा असल चालचलन देखिएमा छुट दिन सकिने, खुला कारागारमा राख्न सकिने, हप्तामा एक दिन उपस्थित गराएर छाड्न सकिने, सामाजिकीकरण गर्ने तथा श्रममा लगाउन सकिने लगायतका व्यवस्था भए पनि कार्यान्वयन भएको छैन ।





















