ललितपुर / ललितपुुर जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।
रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।
विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो ।
प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको थियो ।
गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।





















