काठमाडौं / कोरोना भाइरसकाे परीक्षण निजी ल्याबमा गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने भएका छन्। बीमा समितिले निजी ल्याबबाट भएको परीक्षणको दाबी भुक्तानी नदिन बीमा कम्पनीहरुलाई पत्रचार गरेकाे छ।
बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ अनुसार निजी ल्याबमा परीक्षण गर्दा दाबी भुक्तानी नपाउने जनाएको छ। कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ। यस्तै कोरोना संक्रमणको प्रमाण पेश भएको ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ।
उक्त मापदण्ड अनुसार बीमितले निजी ल्याबबाट परीक्षण गर्दा दाबी भुक्तानी नपाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले जानकारी गराए। ‘हामीले मापदण्डमा भएका प्रावधानहरु प्रष्ट मात्रै पारेका हौं। मापदण्ड अनुसार प्रकृया पुर्याउने बीमितहरुले दाबी भुक्तानी पाउछन्,’ उनले भने।
समितिका कार्यकारी निर्देशक पौडेलले कोरोना परीक्षणको नाममा निजी ल्याबहरुले केही बदमासी गरेको आरोप पनि लगाए।
उनले भने, ‘अहिले निजी ल्याबहरुले गरिएको परीक्षणमा बदमासी देखियो भन्ने कुरा आइरहेको छ। त्यसैले, कोरोना बीमाको मापदण्ड अनुसार सरकारी ल्याबहरुबाट मात्रै परीक्षण गरेकालाई मात्रै भुक्तानी गर्न निर्देशन बीमा कम्पनीहरुलाई दिएका हाैं।’





















