चितवन / चितवनको भरतपुरमा रहेको प्रेसिडेन्सी कलेजमा १० लाख अमेरिकी डलरको प्रतियोगिता हुने भएको छ ।
विद्यार्थीहरुको लागि नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ छनोट प्रतियोगिता भरतपुरको प्रेसिडेन्सी कलेजमा हुने भएको छ।
प्रेसिडेन्सी कलेजमा एमबीए अध्ययनरत विद्यार्थी कृष्णप्रसाद चापागाइँ ‘हल्ट प्राइज’ को क्याम्पस निर्देशक छनोट भएसँगै प्रेसिडेन्सी कलेज र पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चितवनका अन्य कलेजका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको हो ।
कृष्णप्रसाद चापागाइँ क्याम्पस निर्देशक र सबिन पौडेल सहनिर्देशक रहेको कमिटीमा स्वेता दुलाल, संचिता श्रेष्ठ, बिबेक राज श्रेष्ठ, पानस डल्लाकोटी, अनुस्का पौडेल र सिलोन रेग्मी रहनु भएको छ । विश्वभरका दुई हजार बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्तरुपमा आयोजना गर्छन् । विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले १० लाख अमेरिकी डलर जित्न सक्ने छ ।डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भएको छ ।
खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षा जस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । प्रेसिडेन्सी कलेजमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् । ‘प्रेसिडेन्सी कलेज’ मा हुने यस कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका चितवनमा सञ्चालित सम्पूर्ण सम्बन्धन् प्राप्त क्याम्पसका स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।
विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । क्याम्पसका निर्देशक चापागाईंका अनुसार धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको छ ।





















