चितवन । चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो ।
यस सँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यस अघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो ।
आज मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
यससँंगै चितवनमा समग्र रुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । ती मध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एकएक बारा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।





















