लम्जुङ्ग / कोरोना संक्रमण जोखिम बढे सँगै जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानीय तहमा जारी गरेको निषेधाज्ञा पाँच दिन थप गरेको छ।
लम्जुङ्ग सदरमुकाम बेंसीशहरका केही वडाहरूमा निषेधाज्ञा जारी राख्दै अन्य स्थानीय तहमा पनि समयावधि थपिएको हो। जिल्ला स्थित कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राइसिस म्यानेजमेन्ट सेन्टरमा शुक्रबार बसेको बैठकले मध्यनेपाल, सुन्दरबजार, राइनास र क्होलासोँथारमा जारी निषेधाज्ञाको समयावधि थप गरेको हो।
यसअघि १२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण जोखिम अझै कायम रहेको भन्दै १७ गते सम्मका लागि थप भएको हो।
निषेधाज्ञा जारी भएको क्षेत्रमा औषधी उपचार, खाद्यवस्तु खरिद र खेतबारीमा कृषिजन्य काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ।
अत्यावश्यक बाहेकका सवारी र हिँडडुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निषेधाज्ञा जारी भएसँगै सदरमुकाम बेंसीशहरमा व्यापार व्यवसाय बन्द हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरूले पनि सेवाप्रवाह ठप्प रोकेका छन्।
जिल्लाभित्र धार्मिक सांस्कृतिक, सामाजिक लगायत कुनैपनि प्रकारको जमघट र भेला गर्नमा प्रशासनले रोक लगाएको छ। जिल्लाका नाकाहरूबाट समेत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सम्पूर्ण सवारी साधन र पैदल आवतजावतमा पूर्ण रोक लगाएको प्रशासनले जनाएको छ।
प्रशासन कार्यालयबाट जारी आदेशको उलङ्गन भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ।





















