तनहुँ / निषेधाज्ञाको समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो ।
खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधन सहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिए । आवश्यक कानूनी कारवाहीका लागि सवारी साधन सहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उनले बताए ।
भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ ।





















