हेटौंडा / बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ। सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो।
मकवानपुरमा कोरोना फैलिँदै गएपछि तीन दिन अघि उपसभामुख तामाङको स्वाब लिइएको थियो। त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो।
सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडा स्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् । तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन्। उपसभामुख तामाङमा सामन्य रुघाखोकी देखिए पनि अन्य कुनै स्वास्थ्य समस्या देखिएको छैन, थापाले बताइन्।
आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ।





















