काठमाडौं / बाढी, पहिरो विस्थापित क्षेत्रमा मन्त्री, सांसदहरु हेलिकप्टरबाट जाने, निरीक्षण गरेर फर्कने र विभिन्न आश्वासनमात्रै दिने यसअघिको परम्परा विपरीत आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्धुपाल्चोकको जुगल गाउपालिका– २ लिदीमा विस्थापितहरुका लागि राहत नै साथमा लिएर जानुभयो ।

उहाँले केही राहत सामग्री काठमाडौंबाट र केही सामग्री सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट हेलिकोप्टरमा लिएर घटनास्थमा पुग्नुभएको हो।
गृहमन्त्री थापा जाँदा साथमै राहत सामग्री लिएर गएकोमा उहाँले घटनास्थलको अवलोकन गरिरहँदा हेलिकोप्टर पुनः चौतारा आएर थप राहत सामाग्री लिएर पुगेको थियो । सो घटनामा ३८ परिवार विस्थापित भएकोमा गृहमन्त्री थापाले ४० परिवारलाई पुग्नेगरी राहत सामग्री लिएर जानुभएको थियो ।
गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री समेत पुराइएको छ । चाइनिज पाल ४० थान, भाडावर्तन सेट ४० थान, त्रिपाल सेट ४०, ब्ल्याकेट ४०, म्याट्रेस ४०, बाल्टिन ४०, जग ४०, प्याष्टिकको ग्यालिन ४० थान र पञ्जा लगिएको हो ।
लिदीको बस्ती स्थानान्तरण गरिने
गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताउनुभएको छ ।
आजै पहिरोग्रस्त क्षेत्रमा पुगेर स्थलगत अनुगमनपछि उहाँले उक्त कुरा बताउनुभएको हो । विहान खसेको पहिलोमा परेर यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ वेपत्ता छन् ।
मन्त्री थापाले घटनामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । अझै ठुलो क्षति हुन सक्ने अबस्था देखिए पनि पूर्व सावधानी अपनाउँदा कम क्षति भएको उहाँले बताउनुभयो ।
सरकारको तर्फबाट उद्धार कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीब्र बनाउने गृहमन्त्रीको भनाइ छ ।
आज गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुग्नुभएको थियो । उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
मन्त्री थापाले भन्नुभयो, ‘उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।’ पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो ।
उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया सुरु गरिने उहाँले आश्वासन दिनुभयो ।

























