चितवन – स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई स्वास्थ्य बीमाको पहिलो सेवा विन्दु पुनः दिएको छ । बोर्डले असोज मसान्तसम्मका लागि पहिलो विन्दुको सेवा प्रदान गर्न दिएको हो ।
बोर्डले भरतपुर अस्पताललाई आज पत्राचार गर्दै भनेको छ “स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूची अनुसार संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नभई प्रेषण केन्द्र मात्र रहने व्यवस्था भएकोमा बीमितहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरी र श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२।०३।३२, च.नं २२८२ को पत्रानुसार प्रथम सेवा विन्दुको वैकल्पिक व्यवस्था भए नभएको एकिन गरी रिफरल सेन्टर कायम गर्ने विषय उल्लेख भई आएको हुँदा हाललाई २०८२ असोज मसान्तसम्मको लागि तहाँ अस्पतालबाट प्रथम तथा रिफरल सेन्टरको रुपमा सेवा प्रदान गर्नुहुन निर्णयानुसार अनुरोध छ।”
यस अघि भरतपुर अस्पताल र भरतपुर आँखा अस्पताललाई बोर्डले प्रथम सेवा विन्दुबाट हटाएको थियो ।
स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको हो।






















