भरतपुर – भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित शिवनगर स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएको छ । आजदेखि कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) सँगको प्राविधीक सहयोगमा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।
एक कार्यक्रमका बीच सो सेवाको भरतपुरमा महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले टेलिमेडिसिन सेवाले स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकसँग भर्चुअल परामर्श गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । एक वर्षअघि सो स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरू भएको उल्लेख गर्दै उहाँले यो नयाँ कदमले थप प्रभावकारी बनाएको बताउनुभयो ।
प्रमुख दाहालले यो सेवाले जनतालाई विशेषज्ञ स्वास्थ्य सुविधा घरदैलोमै पु-याउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै घरआँगनबाट विशेषज्ञ सेवा पाउँदा विगतको हाम्रो प्रयासले जनताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको छ । टेलिमेडिसिन सेवाले यहीँबाट भर्चुअल माध्यममा विशेषज्ञ डाक्टरसँग कुराकानी गरी स्वास्थ्य समस्याको उपचार सहजै लिन सकिनेछ ।” दाहालले पुरानो मेडिकल कलेजका निर्देशक नटराज प्रसादलाई स्वास्थ्य सेवामा योगदानका लागि समेत धन्यवाद दिनुभयो । प्रमुख दाहालले भन्नुभयो, “भरतपुरलाई मेडिकल सिटी बनाउने हाम्रो लक्ष्यमा पुरानो मेडिकल कलेज जस्ता संस्थाको योगदान ठूलो छ ।”
उहाँले शिवनगर क्षेत्र भविष्यमा ‘हस्पिटल सेक्टर’को रुपमा विकसित हुने सम्भावना रहेको बताउनुभयो । शिवनगरमा हाल दुईवटा संघीय अस्पताल (१०० शैयाको आयुर्वेद र ३०० शैयाको शिक्षण अस्पताल) निर्माण प्रक्रियामा छन् । हालै मन्त्रिपरिषद्ले आयुर्वेद अस्पतालको जग्गा स्वीकृत गरेको छ भने शिक्षण अस्पतालको प्रक्रिया पनि अघि बढेको प्रमुख दाहालले जानकारी दिनुभयो ।
सो अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले टेलिमेडिसिन सेवाले समय र खर्च दुवै बचत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भर्चुअल उपचार केन्द्रले समय र पैसा बचत गर्नुका साथै छिटो र छरितो उपचार प्रदान गर्नेछ । यसले हामीलाई गौरवान्वित बनाएको छ ।”
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले टेलिमेडिसिनले रोगबारेको अन्योल हटाएर सेवाप्रति विश्वास बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सेवा प्रभावकारी छ भन्ने विश्वास जनतामा जागेपछि यसको प्रभावकारिता झन् बढ्नेछ ।”
भरतपुर १४ का वडाध्यक्ष राजेन्द्र साँखीले सामाजिक विकासका महत्वपूर्ण कामहरूमध्ये टेलिमेडिसिन सेवाको प्रारम्भ भएकोमा खुशी व्यक्त गर्नुभयो । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले भौतिक पूर्वाधारमा धेरै फड्को मार्न नसके पनि सेवा–सुविधाका सन्दर्भमा यहाँका सेवाग्राही र नागरिकले महसुस गर्ने गरी धेरै कामहरू भएको उहाँको भनाइ छ ।
पुरानो मेडिकल कलेजका उपनिर्देशक डा. सुदिपराज केसीले टेलिमेडिसिनले गाउँ–गाउँमा विशेषज्ञ सेवा पु¥याउने भरतपुरका प्रमुख दाहालको सपना साकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेयरज्यूको विशेषज्ञ सेवा गाउँ–गाउँमा पु¥याउने सपनालाई पुरानो मेडिकल कलेजको समन्वयमा शिवनगरबाट शुरू गरेका छौँ । यो सेवा चितवनबाट शुरू भए पनि देशभर विस्तार गर्न सकिन्छ ।”
उहाँले टेलिमेडिसिनको उद्देश्य अडियो–भिजुअल मार्फत टाढाटाढाबाट, घरमै बसेर पनि विशेषज्ञ डाक्टरको सेवा लिन सकियोस् भन्ने रहेको स्पष्ट पार्नुभयो । उहाँले यो सेवा चितवनबाट सुरु भए पनि यसलाई देशभरका विभिन्न ठाउँमा पु¥याउन सकेमा धेरै व्यक्तिहरूलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
टेलिमेडिसिन सेवा सञ्चालनबारे जानकारी दिँदै डा. केसीले बिरामीहरू टेलिमेडिसिन कोठामा आउने र त्यहाँका डाक्टरहरूले बिरामीको समस्या बुझेर कलेज अफ मेडिकल साइन्सेसका विशेषज्ञ डाक्टरहरूसँग इन्टरनेटमार्फत जोड्ने बताउनुभयो । बिरामीहरूले आफ्ना समस्या राख्ने र सोही अनुसार सेवा प्राप्त गर्नेछन् ।
शिवनगर प्राथमिक स्वास्थ्य सेवा केन्द्रकी मेडिकल अधिकृत डा. मान्यता थापाका अनुसार दैनिक १८० देखि २०० जना बिरामीहरूले सेवा लिने गरेका छन् । कहिलेकाहीँ यो संख्या २५० देखि ३०० सम्म पुग्ने उहाँ बताउनुहुन्छ । यहाँ आउने अधिकांश बिरामीहरू आर्थिक रुपमा विपन्न वर्गका हुने गरेको डा. थापा बताउनुहुन्छ ।
“हामीले यहाँ सुपर स्पेसलिस्ट सेवा दिन नसक्दा वृद्धवृद्धा र आर्थिक रुपमा कमजोर आमाबुवाहरुलाई रिफर गरेर पठाउनुपर्ने बाध्यता थियो,” डा. थापा भन्नुहुन्छ, “उहाँहरुलाई यात्रा गर्न पनि गाह्रो हुन्थ्यो र सवारी साधन तथा अन्य खर्चको भार बिमा हुँदाहुँदै पनि धान्न नसक्ने अवस्था हुन्थ्यो । अहिले टेलिमेडिसिन सेवा सुरु भएपछि त्यस्ता बिरामीहरुको लागि धेरै सहजता हुनेछ,” उहाँले थप्नुभयो ।
























