काठमाण्डौ – सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।
जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ । सीआइबीले महरालाई पक्राउ गरेर हिरासतमा राख्न अनुमति माग गर्दै हिजो जिल्ला अदालतमा पेस गरेको थियो ।
कमजोर स्वास्थ्य अवस्थाको कारण देखाउँदै जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा महरालाई नर्भिक अस्पताल भर्ना गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।





















