काठमाडौं / सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।
उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्लास्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने बताउँदै देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पारे । खतिवडाले त्रसित भएर पूर्ण रुपमा यस अघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरेका छन् ।
उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताएका छन् । काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरू चाल्न सुरु गरिएको उनले बताए ।
जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताए । त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताए ।
क्वारेन्टाइन्हरु खाली हुँदै जाने र आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवस्यकता अनुसार काम भइरहेको स्पस्ट पादै आवश्यकता अनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताए ।
यस्तै कोभिडको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिरहँदा स्वास्थ्य सम्बन्धी अरु कारणले मृत्यु नहोस् र अन्य आर्थिक समस्या समेत नआओस् भन्ने विषयमा सरकार सजग रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरु र आर्थिक क्षेत्रका विज्ञहरुसँग छलफल गरिसक्नु भएको उनले बताए ।
विज्ञहरुले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले त्यही अनुसार नै व्यवस्थापन गरिने बताए । विज्ञहरुले मानिसको मृत्युसम्मको अवस्थामा पु¥याउने विभिन्न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताए ।





















