चितवन – भरतपुर महानगरपालिकाको चार वटा वडालाई छोएर बग्ने पुङ्गीखोलाको सौन्दर्यकरण सुरु गरिएको छ । खोला सौन्दर्यकरण गर्ने आयोजनाको आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरकी मेयर रेनु दाहालले शिल्यानाश गरेकी छिन् । आयोजनाको शिलान्यास गर्दै मेयर रेनुले भनिन्– ‘सौन्दर्यकरणको काम सुरु भएको छ, अब विभिन्न चरणमा पुङ्गीखोला सौन्दर्यकरणको काम सम्पन्न हुनेछ ।’
महानगरपालिकाको ११ नम्बर वडाबाट सुरु हुने उक्त खोला २ र ३ नम्बर वडा हुँदै भरतपुर–३ र ४ को सिमाना हुँदै नारायणी नदीमा मिसिएको छ । पुङ्गीखोलाको लम्बाई करिब ६ किलोमिटर रहेको छ । सौन्दर्यकरणको पहिलो चरणमा ३५५ मिटरमा खोलाको दुवैतर्फ पर्खाल लगाएर बिरुवा सहितको फुटपाथ बनाइने मेयर दाहालले बताइन् ।
यो खोला सौन्दर्यकरणको लागि तीन करोड ९७ लाख ७४ हजार रुपैयाँ अनुमान लागतको ठेक्का आह्वान पनि भएको थियो ।
पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार रुपैयाँमा खोला सौन्दर्यकरणको काम गर्न टिएसएन÷गिरवान जेभीले ठेक्का पाएको छ भने आगामी २०८१ मंसिर २० गतेसम्ममा यो ठेक्काको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बाँकी रकमको पनि काम गर्न अर्को ठेक्का आह्वान गरिने दाहालले उक्त अवसरमा जानकारी दिइन् ।

आगामी आर्थिक वर्षमा पनि पुङ्गी खोला सौन्दर्यकरणको आयोजनालाई अगाडि बढाउन संघीय सरकारसँग बजेट माग गरिने मेयर दाहालको भनाइ थियो । ६ किमीको खोलामध्ये ५ किमीमा सिमाङ्कनको काम सम्पन्न भइसकेको छ भने एक किमीमा अझै सिमांकन हुन बाँकी नै रहेको छ । निर्माणसँगै सिमांकनको काम पनि सकिने दाहालको भनाइ थियो ।
त्यसैगरी केरुंगा खोलामा पनि सौन्दर्यकरणको लागि केहि दिनमै शिलान्यास गरिने उनले जानकारी दिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संघ र महानगरको बजेटमा खोला सौन्दर्यकरणको काम हुन लागेको बताए ।
शिलान्यास कार्यक्रममा भरतपुर–११ का अध्यक्ष कमलबहादुर मल्ल, २ का अध्यक्ष मनोज रानाभाट, ३ का अध्यक्ष विकास थापा, ४ का अध्यक्ष अर्पण पोखरेल लगायतको सहभागिता रहेको थियो ।





















