काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल युद्धमा बेपत्ता रहेका विपिन जोशीका परिवारलाई भेटेका छन्। कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटघाट गरेका हुन्।
जोशीका बुवाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेको बेलामा उनीहरूले विपिनको रिहाइका लागि आग्रह गरेका हुन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सकारात्मक पहल सरकारले गरिरहेको बताएका थिए।
विपिनका बुवाआमाले यसअघि पनि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रिहाइको पहलका लागि आग्रह गरेका थिए। विपिन हमासको नियन्त्रणमा रहेको इजरायली सेनाले पुष्टि गरेको भए पनि उनको पछिल्लो अवस्था अज्ञात छ। इजरायल र हमासबीच युद्धविराम गरी बन्धक र बन्दी रिहाइको सहमति भएको थियो। त्यस बखत रिहाइको सूचीमा विपिन पर्न सकेनन्।





















