काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।
‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेर रास्वपा सभापति लामिछानेले आग्रह गर्दा प्रचण्ड गम्भीर भएको रास्वपाले जनाएको छ ।
राहत सामग्री जिल्ला प्रशासनमा थुप्रिएको तर पीडितले नपाएको विषयलाई लामिछानेलाई प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।























