चितवन – भरतपुरको बाईपास रोडअन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न तीन पक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्न त्रिपक्षीय सहमति भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्यामबाबु लोप्चनले संयुक्त रुपमा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो माटो भर्ने तथा मिडियनमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने सहमति पत्रमा उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट महानगरको मापदण्ड अनुसारको बिरुवाहरु उपलब्ध गराउने तथा रोप्ने काम गरिनेछ ।
बिरुवा रोपेपछि भने यसको संरक्षण तथा अनुगमनको काम महानगरपालिकाको हुने सहमति पत्रमा उल्लेख छ । महानगरपालिकाले बिरुवाको लागि मिडियनको गार्डेनको दुवैतिर घेराबार तथा सिंचाइको व्यवस्था गर्नुपर्नेछ । विशालचोकदेखि आँपटारीसम्मको १७ सय मिटरको मिडियनमा असोज २६ गते शुक्रबार वृक्षरोपण गरिने महानगरपालिकाका वातावरण निरीक्षक लक्ष्मी ठगुन्नाले जानकारी दिइन् ।
बाइपास सडकमा यसअघि नै तीनवटा निकायको लगानीमा केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म वृक्षरोपण भइसकेको छ । सडक निर्माणमा ढिलाइ भएसँगै यो क्षेत्रमा वृक्षरोपण गर्न पाइएको थिएन । अहिले सडक निर्माण सम्पन्न भएसँगै वृक्षरोपणका लागि बाटो खुलेको हो । भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकमा हरियाली प्रर्वद्धन कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।





















