चितवन – भरतपुर महानगरपालिकाले यस शैक्षिक सत्रको लागि कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहानको बैठकले छात्रवृत्तिका लागि २ सय ८३ जना विद्यार्थी छनोट गरेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले दिएको जानकारीअनुसार २०७९ को एसइई परीक्षा उत्तीर्ण भएका निजी र सामुदायिकका ५०÷५० प्रतिशत विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका हुन् ।
शैक्षिक सत्र २०८० मा महानगरअन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिकाको संशोधनसहितको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ को दफा ५ को उपदफा ३ (१) बमोजिम छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट १५ दिनको समयावधि दिएर अनलाइनमार्फत आवेदन मागेको थियो ।
महानगरको उक्त सूचनाअनुसार सामुदायिक विद्यालबाट ४ सय ७९ जना र निजी विद्यालयबाट ३ सय ४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट २ सय ८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए । अनलाइनमार्फत परेका आवेदनमाथि जाँचबुझ गरी २ सय ८३ जनालाई छनोट गरिएको हो । स्थानीय शिक्षा नियमावलीअनुसार विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।
महानगरद्वारा माग भएको आवेदनमा एसईईको ग्रेड सिटसहित अपांगता भएका विद्यार्थीको हकमा अपांगता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजपत्र, सहिद, जनआन्दोलनका घाइतेका, बेपत्ताका परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, गरिब तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस समावेश गर्नुपर्ने थियो ।
महाशाखाले जनाएअनुसार विद्यार्थीले एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको छ । अन्तिम नामावलीअनुसार ३७ प्रतिशत जेहेनदार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत शारीरिक अपांगता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तति समावेश गरिएको छ ।





















