चितवन – भरतपुर महानगर प्रमुख रेनु दहालले अब कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट बञ्चित हुन नपर्ने बताएकी छिन् । खानेपानी आम नागरिकको पहुँचमा पुगेको भन्दै नगरप्रमुख दहालले जनताको घरघरमा स्थानीय सरकार पुगेको आभास भएको जिकिर गरिन् ।
पार्वतीपुर खानेपानी उपभोक्ता समितिको प्रथम साधारणसभा एवं अधिवेशन कार्यक्रमलाई आज भरतपुर–२१ पार्वतीपुरमा सम्बोधन गर्दै नगरप्रमुख दहालले स्थानीय सरकारको प्रत्याभूति हुने गरी महानगरपालिकाले जनताको घरघरमा स्वच्छ खानेपानी पु¥याएको उल्लेख गरिन् । हामी जनताका सेवक हौँ, नगरप्रमुख दहालले भनिन्, पूर्वाधार निर्माणसँगै जनताका दैनिक आवश्यकताहरु पूरा गर्नु स्थानीय सरकारको दायित्व हो ।

नगर प्रमुख दहालले जनताको मौलिक हकको सुनिश्चितता भएको उल्लेख गर्दै हाम्रो महानगर दे मै पहिलो पूणृ खानेपानी उपलब्ध भएको पालिका बन्नेमा विश्वाससमेत व्यक्त गरिन् । महानगरभित्र निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु सम्पन्न भएपछि ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुग्ने उनको तर्क छ ।
त्यसैगरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका शून्य पानीको अवधारणामा गएको टिप्पणी गरे । महानगरपालिकाले जनताका घरघरमा पानीको धारा पु¥याएर शून्य पानीको सुरुआत गरेको तर्क राख्दै उपप्रमुख अधिकारीले भने, ‘महानगरमा बसोबास गर्ने सबैजसो नागरिकको घरदैलोमा स्वच्छ पिउने पानीको व्यवस्था भएको छ, महानगर शून्य पानीको अवस्था (खानेपानीमा सबैको पहुँच पुगेको)मा प्रवेश गरिसकेको छ ।

२०७१ सालबाट शुरु भएको आयोजना नौ वर्षपछि आएर सम्पन्न भई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनद्वारा निर्माण गरिएको आयोजना ८ करोडको लागतमा सम्पन्न भएको हो । पार्वतीपुर खानेपानी आयोजनामार्फत हाल एक हजार दुई सय ८० उपभोक्ताले स्वच्छ पिउने पानी प्रयोग गर्दै आइरहेका छन् ।


भरतपुर महानगरपालिकाले नगरवासीलाई प्रति धारा मासिक ७ हजार लिट सम्म खानेपानी निःशुल्क वितरणसमेत गर्दै आइरहेको छ । शारदानगरमा हाल ५५ करोडको लागतमा खानेपानी आयोजना निर्माण भइरहेकोे छ भने दिव्यनगरमा पनि ठूलो खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भरतपुर–२९ मा महानगरको सबै भन्दा ठूलो खानेपानी आयोजना निर्माण भई उपभोक्तामा हस्तान्तरण भइसकेको छ । महानगरपालिकाभित्र हाल झण्डै एक दर्जन भन्दा बढी खानेपानी आयोजनाहरु सञ्चालनमा रहेका छन् ।





















