चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मानव बेचबिखन जस्तो सामाजिक अपराध अन्त्यका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक रहेको बताएकी छन्।
महिला सशक्तीकरण तथा परिवर्तनशील संस्थाले आज (शनिवार) भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले मानव बेचबिखन विरुद्धको अभियानमा विभिन्न सङ्घसंस्थाले थालेको अभियानमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
भरतपुर महानगरको सहयोगमा आयोजना भएको कार्यक्रममा महिला अधिकारीकर्मी तथा आदर्श गृहका अध्यक्ष मिना खरेलले मानव बेचबिखन प्रभावितहरूका लागि सहानुभूति भन्दा पनि समानुभुति आवश्यक भएको बताइन्। पीडितमैत्रि सामाजिक संरचना नभएका कारण प्रभावितहरूले आफ्नो समस्या अगाडि ल्याउन नसकेको बताइन्।
कार्यक्रमलाई सहजीकरण गर्दै अधिकारकर्मी तथा कीन इन्डियाका नेपाल निर्देशक ईन्द्रराज भट्टराईले नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था तथा मानव बेचबिखन र तस्करीका विभिन्न आयामहरूका विषयमा प्रस्ट पारेका थिए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव उपरीक्षक रिमा कोइरालाले चितवनमा मानव बेचबिखनको अवस्थाको विषयमा जानकारी गराएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०७९/८० मा ७ वटा मानववेचविखनको घटना दर्ता भएको छ। यो घटना अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष ७८/७९ मा ३ वटा र ०७७/७८ मा ४ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।
महिला सशक्तीकरण तथा परिवर्तनशील संस्थाको सचिव तथा कार्यक्रम संयोजक पवित्रा रिजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष सङ्गीता भट्टराईले मानववेचविखन विरुद्धको अभियानमा महानगरपालिकाले नीतिगत रुपमा निर्णय गर्नु आवश्यक भएको बताइन्।
विभिन्न सङ्घसंस्थाका प्रतिनिधि महिला तथा प्रहरी र सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी प्रमुख प्रकाश रानाभाट, भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, माइती नेपालका चितवन संयोजक ईश्वर गिरी, मञ्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मञ्जु खाँण, युवा प्रतिनिधि प्रसिद्ध पौडेल लगायतले मन्तव्य राखेका थिए।





















