काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ ।
लामिछानेले नेपाली नागरिकता पुन: कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन् ।
रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ । रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।





















