काठमाडौं / सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन २ महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड-१९) सङ्क्रमण फैलन सक्ने भएकाले २ महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ ।
बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हुँदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।
विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे ।
लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ ।
‘अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ,’ महानिर्देशक हमालको भनाइ छ ।
यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा बाँकी रहेका करिब ७ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ ।
गत माघमा बाँकी रहेका सात लाख स्मार्ट लाइसेन्स छ महिनामा सक्ने गरी काम सुरु गरिएको थियो तर कोरोनाले नयाँ आवेदन रोक्का भएपछि बाँकी रहेको काम गर्न सजिलो भएको विभागले जनाएको छ ।





















