काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)को नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई भेटेर न्यासिम खोला जलविद्युत आयोजनामा तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रा।लिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा एक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न तथा सो आक्रमण निष्पक्ष छानबिनका लागि कार्यदल निर्माण गर्न ईप्पानले लिखित माग गरेको हो ।
विभिन्न बहानामा आयोजना प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा यस्ता आपराधिक गतिविधि शृङ्खलाबद्ध हुन थालेपछि ईप्पानले प्रधानमन्त्रीलाई आज भेटेर यसबारेमा गम्भीर ध्यानाकर्षण गराएको छ ।





















